कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि, संसद विघटनविरुद्ध आन्दोलनका विषयमा छलफल गर्ने


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहिबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय समितिको बुधबारको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसले आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्दैछ । कांग्रेसले १४ औं महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संसद विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्ने धारणा बुधबारको बैठकमा राखेका थिए ।

सभापति शेरबहादुर देउवा भने संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगेकाले फैसला गर्न अदालतलाई दबाव पुग्ने खालको कुनै पनि गतिविधि गर्न नहुने धारणा राख्दै आएका छन् ।

प्रतिक्रिया