

तीन वर्षमा बैतडीबाट हराए दुईसय महिला र बालबालिका

बैतडी – भारतसँग सीमा जोडिएको बैतडी जिल्लाबाट पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ । गएको तीन वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष हराउने महिला तथा बालबालिकाकोे सङ्ख्या बढ्दै गएको हो ।
पछिल्लो तीन वर्षमा यहाँबाट दुई सयभन्दा बढी महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०७९/८० सम्म यहाँ दुईसय ४३ महिला तथा बालबालिका हराएका छन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुुसार आर्थिक वर्ष २०७७/७८ मा ६०, आव २०७८/७९ मा ७८ र गत आव २०७९/८० मा एकसय पाँचजना हराएका छन् । हराउनेमा सबैभन्दा बढी महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हराएकामध्ये केही फेला पर्ने गरेका भए पनि आधाजसो अझै सम्कर्पविहीन रहेको प्रवक्ता जोशीले बताए । गत आर्थिक वर्षमा एक सय पाँच जनाको खोजीका लागि प्रहरीमा निवेदन आएकोमा ५५ जना फेला परेका छन् । उक्त वर्ष ७२ महिला, २१ बालिका, १० बालक र दुई ज्येष्ठ नागरिक हराएका थिए । हराएकामध्ये ३३ महिला, १२ बालिका, नौ बालक र एक ज्येष्ठ नागरिक फेला परेका हुन् ।
यस्तै आर्थिक वर्ष २०७८/७९ मा ४० महिला, २६ बालिका र १२ बालक हराएका थिए । तीमध्ये २३ महिला, १६ बालिका र छ बालक मात्रै फेला परेका छन् । दुई वर्षको अवधिमा हराएकामध्ये एकसय जना फेला परेका छन् भने ८३ जना अझै हराइरहेका प्रहरी निरीक्षक जोशीले बताए । यसका साथै आव २०७७/७८ मा हराएका ६० जनामध्ये ३९ मात्रै फेला परेका र अरु सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
आफन्तहरूले खोजीकार्यका लागि भन्दै प्रहरीमा दिएको निवेदनका आधारमा हराएका महिला तथा बालबालिकाको सङ्ख्या एकीन गर्ने गरिएको प्रहरी प्रवक्ता जोशीले बताए ।

