काठमाडौं उपत्यकाभित्रको सार्वजनिक सवारी साधनमा गुणात्मक परिवर्तन गर्छौँ : प्रधानमन्त्री


काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं उपत्यकाभित्रको सार्वजनिक सवारी साधनमा गुणात्मक र देखिनेगरी सुधार ल्याउन जरुरी रहेकाले त्यसका लागि सरकारले आवश्यक तयारी थालिसकेको बताएका छन् । त्यसका लागि ठूला बस सञ्चालनमा ल्याउनेगरी आवश्यक प्रबन्ध गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल थालिसकेको उनले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा यातायात क्षेत्रसँग जोडिएका सरोकारवालाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परीक्षणकै रुपमा भए पनि ठूला बस ‘बिआरटी’ सञ्चालन गरेर यातायातको चाप कम गर्ने तयारी गरिएको बताए । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी असोज १ गतेदेखि रत्नपार्क–सूर्यविनायक खण्डमा बिआरटी सञ्चालनको आवश्यक तयारी गरेको छ ।

मन्त्रालयले कार्यालय समयमा सहज रुपमा यात्रुलाई सेवा दिन सो बस चलाउने तयारी गरेको भए पनि प्रधानमन्त्री दाहालले कार्यालय समयभन्दा पछिको समयमा सो बस चलाएर परीक्षण गर्नसमेत सम्वद्ध अधिकारीलाई निर्देशन दिए । उनले त्यसका लागि आवश्यकपर्ने ट्राफिक सङ्केत, ट्राफिक प्रहरी परिचालन, जनचेतना तथा ट्राफिक बत्तीलगायतको प्रबन्ध गर्नसमेत आग्रह गरे ।

यस्तै, प्रधानमन्त्री दाहालले साझा यातायातले ल्याएको ४० वटा बस सञ्चालन गर्ने वातावरण बनाउन पनि मन्त्रालयलाई निर्देशन दिए । साझा यातायातले आयात गरेको विद्युतीय बस चार्जिङ स्टेशन नभएको भन्दै सञ्चालनमा ल्याउन सकेको छैन । साझा यातायाताको पुल्चोकस्थित जग्गामा कति सकिन्छ त्यति नै चार्जिङ स्टेशन निर्माणको प्रबन्ध गर्नेगरी सहजीकरण गर्नुपर्ने उनले जोड दिए ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यकाको सार्वजनकि यातायात सुधारका लागि मन्त्रालयले आवश्यक पहल थालिसकेको बताए । सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले राज्यको ठूलो लगानी परेको साझा यातायाताको बस तत्काल सञ्चालनको प्रबन्ध गर्नुपर्ने बताए ।

प्रतिक्रिया