सीआईबीका प्रहरीलाई ‘एशिया इन्भाइरोमेन्टल इन्फोर्समेन्ट अवार्ड’


काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का दुई जना अधिृकतले राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) को ‘एशिया इन्भाइरोमेन्टल इन्फोर्समेन्ट अवार्ड’ प्राप्त गरेका छन्।

बुधवार थाइल्याण्डको बैंककमा विशेष कार्यक्रम गरी यूएनईपीले भारतसहित, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स र नेपालका आठ जनालाई अवार्ड दिएकाे हाे।

नेपालबाट सीआईबीका दुई अधिकृत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्रसिंह जोहारीले उक्त अवार्ड पाएको यूएनईपीले विज्ञप्तिमार्फत् जनाएको छ।

वर्षौं लामो अनुसन्धानबाट कुख्यात वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई पक्राउ गरेकोमा उनीहरुलाई उक्त अवार्ड प्रदान गरिएको यूएनईपीले जनाएको छ।

२०६२ सालमा रसुवामा बाघ र चितुवा तथा अन्य संरक्षित वन्यजन्तुका छाला र हड्डीसहित पाँच जना पक्राउ परेको घटनाका नाइके रहेका तामाङ त्यसबखत भाग्न सफल भएका थिए। उनलाई गत असारमा सीआईबीले काठमाडौंबाट पक्राउ गरेको थियो।

सीआईबीका निर्देशक सहकूल थापाले अवार्डलाई आफूले सीआईबीको वाइल्डलाइफ पिल्लरले वन्यजन्तु अपराध नियन्त्रणमा खेलेको भूमिकालाई अन्तर्राष्ट्रिय रुपमा ‘रिकग्नाइज’ गरिएको रुपमा लिएको बताए।

प्रतिक्रिया