वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ : नारायणकाजी श्रेष्ठ


काठमाडौं – प्रचण्ड- नेपाल नेतृत्वको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देश गम्भीर संकटबाट गुज्रिएको भन्दै संविधान र लोकतन्त्रमाथि प्रहार भइरहेको र पुन: वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै श्रेष्ठले सत्तास्वार्थका कारण निरंकुश तत्वहरूबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको समेत उल्लेख गरेका छन्।

‘विदेशी शक्तिहरू  कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सूक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका  छन्,’उनले भनेका छन्,’सम्पूर्ण देशभक्त शक्तिहरू एक होऔं। प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं। राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौं।’

यसअघि आजै प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उत्तरपूर्वी भारतीय राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवको अमित शाहले नेपाल र श्रीलंकामा पनि बिजेपी सरकार बनाउने योजना रहेको भन्ने अभिव्यक्तिमा आपत्ति जनाएको थियो।

प्रतिक्रिया