गाउँपालिकाको ७० प्रतिशत घरधुरीमा विद्युत पहुँच


कालीकोट – कालीकोटको पलाँता गाउँपालिकाको ७० प्रतिशत घरधुरीमा विद्युत पहुँच पुगेको छ । गाउँपालिकाका नौ वडामध्ये ७ वटामा बिजुली पुगेको हो । गाउँपालिकाले २८ किलोवाटको भूँचीखोला, एक सय किलोवाटको दुरसी खोला, ७० किलोवाटको औँलाखोला र १३० किलोवाटको दार्मिघाट लघुजलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरेको छ ।

ती आयोजनाबाट गाउँपालिकामा दुई हजार ७०० घरधुरीमध्ये दुई हजार १०० घरधुरीमा बिजुलीबत्ती बलिसकेको गाउँपालिकाका ऊर्जा संयोजक जनराज बमले जानकारी दिए । उनका अनुसार बाँकी ५०० घरधुरीमा केही महिनामै बत्ती बलिसक्ने गरी काम भइरहेको छ । ‘गाउँपालिकाको वडा नं १, २ र ३ मा आधा घरधुरीमा बत्ती बलेको छ भने वडा नं ८ मा विद्युत छैन’, उनले भने, ‘ती ठाउँमा अहिले विद्युतका पोल गाड्ने काम भइरहेको छ ।’

बत्ती नबलेका ती ठाउँमा एक/दुई महिनामै बिजुली बत्ती बाल्ने योजनासाथ काम गरिरहेको संयोजक बमले बताए । ‘पलाँता गाउँपालिका विद्युतले आत्मनिर्भर भइसकेको छ’, उनले भने,’विद्युत नपुगेका वडामा पनि विद्युत यसै आर्थिक वर्षका पुर्‍याउने लक्ष्य राखिएको छ ।’

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले सडक, बिजुली, स्वास्थ्य, शिक्षा र रोजगारी आफ्नो पहिलो प्रथामिकतामा रहेको बताए । ‘मैले गरेका प्रतिबद्धता आफ्नो कार्यकालमा करीब पूरा भइसकेका छन् । अब केही विकासका प्रतिबद्धता पूरा गर्न बाँकी छन्’, उनले भने ।

ऊर्जा शाखा संयोजक बमका अनुसार गाउँ कार्यपालिकाले निर्णय गरेर गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका, अशक्त तथा असाहयका लागि विद्युत् महशुल छुट गरिएको हो ।

प्रतिक्रिया