

मन्त्रालयका सचिवलाई अर्थमन्त्रीको निर्देशन – कात्तिकभित्र ठेक्का लगाइसक्नू

काठमाडौं – अर्थमन्त्री प्रकाशशरण महतले कात्तिक महिनाभित्र ठेक्का लगाइसक्न निर्देशन दिएका छन्। मन्त्रालयका सचिवहरूसँगको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन्।
उनले डीपीआर भइसकेका आयोजनाको मात्रै ठेक्का प्रक्रियामा जानेगरी काम गर्न निर्देशन दिएका हुन्। उनले डीपीआरको मात्र बजेट माग्ने अथवा प्राथमिकताको आयोजना हो भने डिपीआर गरेर कात्तिकसम्म ठेक्का लगाउन सकिन्छ भने मात्र आयोजना अगाडि बढाउन निर्देशन दिए। ‘कात्तिकभित्र ठेक्का लगाउनैपर्छ,’ उनले भने।
कतिपय दायित्व सिर्जना भए पनि सरकारले तिर्न नसकेको उनले स्वीकारे। ‘ठेक्का लागिसकेको आयोजनाको ठेकेदारले दिएको बिल एक महिनाभित्र अर्थमन्त्रालयमा आउनुपर्छ। एक महिनाभित्र आएको बिल अर्थमन्त्रालयले १५ दिनभित्रमा पास गरेर पठाउने छ। अब असारमा खर्च हुँदैन,’ उनले भने।
उनले काम भइसकेर दायित्व सिर्जना भएको भुक्तानी पाउनुपर्ने बताए। ‘उनीहरूको पनि समस्या छ। त्यसलाई हामीले नजरअन्दाज गर्न हुँदैन। बजेट शीर्षक भएको दायित्वलाई प्राथमिकतामा राखेर भुक्तानी गर्नुपर्छ,’ उनले भने।
आवश्यकता र स्रोतका बीचमा ठूलो खाडल रहेको बताउँदै उनले स्रोत सुनिश्चिता नभएको आयोजना अगाडि नबढाउन मन्त्रालयका सचिवहरूलाई अर्थमन्त्री महतले निर्देशन दिए। ‘हामी कोही पनि जिम्मेवारीबाट पन्छिनु हुँदैन। जिम्मेवारीबाट पन्छियो भने त्यसले परिणाम दिँदैन। जहाँ पनि म स्पष्टसँग भन्ने गर्छु, गर्न नसकिने काम यो-यो कारणले गर्न सकिँदैन,’ उनले भने।
अर्को वर्षको बजेटका लागि अहिल्यैदेखि तयारी गर्न निर्देशन दिँदै उनले आवश्यकता नभएको आयोजनालाई हटाउन निर्देशन दिएका थिए।

