चीनविरोधी ट्रम्पको चिनियाँ बैंकमै खाता !


न्यूयोर्क(एजेन्सी)– न्यूयोर्क टाइम्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक चिनियाँ बैंकमा आफ्नो खाता रहेको स्वीकार गरेको दाबी गरेको छ । यो बैंक खातालाई ट्रम्प इन्टरनेशनल होटल्स मेनेजमेन्टलाई हेरेको छ र वर्ष सन् २०१३ देखि २०१५को बीचमा बैंकको खाताबाट स्थानीय कर तिरेको पनि पत्रिकाले उल्लेख गरेको छ ।

ट्रम्पका प्रवक्ताका अनुसार एशियामा होटल उद्योगसँग जोडिएका सम्झौताको सम्भावना खोजी गर्नका लागि यो बैंकमा खाता खोलिएको हो । राष्ट्रपति ट्रम्प चीनमा व्यापार गर्ने अमेरिकी कम्पनीको आलोचना गर्छन् र उनले अहिले चीनका विरुद्ध व्यापारिक युद्ध शुरु गरिरहेका छन्

न्यूयोर्क टाइम्सले ट्रम्पको ट्याक्स रेकर्डबाट उनको यो बैंक खाताको बारेमा पत्ता लगाएको हो । जसमा ट्रम्पको व्यक्तिगत र कम्पनी दुवैको वित्तिय विवरण थियो । पत्रिकाले आफ्नो समाचारमा सन् २०१६–१७ मा जब ट्रम्प अमेरिकाको राष्ट्रपति भए, त्यही अमेरिकी फेडरल ट्याक्सका रुपमा उनले ७ सय ५० अमेरिकी डलर मात्र भुक्तानी गरेका थिए । यद्यपि ट्रम्पले त्यो समाचारका बारे कर बचाउनका लागि तमाम नियमको फाइदा उठाएकोले कम मात्र कर तिर्नुपरेको सफाई दिइसकेका छन् ।

पत्रिकाको ताजा समाचार अनुसार ट्रम्पको चिनियाँ बैंक खाताबाट स्थानीय करमा १ लाख ८८ हजार ५ सय ६१ अमेरिकी डलर भुक्तान गरिसकेका छन् । अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ । यसको प्रचार गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी जो बाइडन र चीनलाई लिएर उनीहरुको नीतिको चर्को आलोचना गरिरहेका छन् । आफ्नो कुरामा अडिग रहनका लागि ट्रम्प प्रशासनले कैयौं पटक डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेद्वार जो बाइडनका छोरा हन्टर र चीनबीच व्यापारिक सम्बन्ध रहेको बताउँदै आएको छ ।

ट्रम्पको कम्पनीका वकिल एलन डार्टनले न्यूयोर्क टाइम्सलाई ट्रम्प इन्टरनेशनल होटल्स मेनेजमेन्टले अमेरिकास्थित एक चिनियाँ बैंकमा स्थानीय कर भुक्तान गर्न सजिलो होस् भनेर खाता खोलेको बताएका छन् । ‘सन् २०१५ पछि यो चिनियाँ बैंकको खाताबाट ट्रम्पको टिमले कुनै सम्झौता, लेनदेन या अन्य व्यावसायिक गतिविधि गरेको छैन । यद्यपि यो खाता अहिले पनि सञ्चालनमा छ । तर यसको उपयोग कुनै अन्य उद्देश्यका लागि कहिल्यै प्रयोग भएन’, उनको दाबी छ । ट्रम्प अमेरिकाको राष्ट्रपति हुनु अघि एक अन्तर्राष्ट्रिय व्यापारी थिए, जसले रियल इस्टेटका अलावा कैयौं अन्य काम पनि गरेका थिए ।

पत्रिकाले ट्रम्पको चीनका अलावा ब्रिटेन र आयरल्याण्डमा पनि बैंक खाता रहेको दाबी गरेको छ । गत अगष्टमा राष्ट्रपति ट्रम्पले आफ्नो कारखानालाई चीनबाट बाहिर ल्याउने अमेरिकी कम्पनीलाई ट्याक्स क्रेडिट दिने बताएका थिए । उनले चीनका लागि काम गर्ने अमेरिकी कम्पनीको सरकारी अनुमति रद्द गर्ने धम्की समेत दिएका थिए । आफ्नो एक भाषणमा उनले १० महिनामा एक करोड रोजगारी सिर्जना गर्ने पनि बताएका थिए । ‘हामी चीनमाथिको निर्भरतालाई समाप्त गर्नेछौं’, उनले भनेका थिए ।

तर यसको विपरित न्यूयोर्क टाइम्सको समाचारमा कसरी ट्रम्प चीनमा व्यापार गर्ने सम्भावनाको खोजी गरिरहेका छन् भन्ने कुरालाई पनि प्रष्ट उल्लेख गरेको छ । किनकी सन् २०१२ मा संघाईमा एक कार्यालय खोलेपछि उनको प्रयासमा तिब्रता आएको थियो ।

ट्याक्स रेकर्डका अनुसार ट्रम्पले विगत केही वर्षमा विशेष रुपले चीनमा आफ्नो परियोजनालाई अगाडि बढाउनका लागि बनाएको पाँच साना कम्पनीमा उनले झन्डै १ लाख ९२ हजार अमेरिकी डलर लगानी गरेका थिए । चीनमा ट्रम्पको योजनालाई मूल रुपमा ट्रम्प इन्टरनेशनल होटल्स मेनेजमेन्ट सञ्चालन गर्छ ।

प्रतिक्रिया