

ललिता निवास प्रकरण : पक्राउ गरिएका चार जना आरोपितको बयान सकियो

काठमाडौँ – बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरिएका ४ जनाको बयान पूरा भएको छ ।
बिहीबार सम्ममा ४ जनाको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले बताए ।
भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ सहित १७ जनालाई ब्युरोले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार थुनामा रहेका मध्ये रमेश कुमार पोखरेल, घमान कुमार कार्की, बाबुराजा महर्जन र शिवजी भट्टराईको बयान पुरा भएको छ ।
रमेश कुमार पोखरेल समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख हुन् । पोखरेल असार १८ मा पक्राउ परेका थिए । घमान कुमारी कार्की नापी सर्वेक्षक हुन् ।
बालुवाटारको जग्गामा ‘नक्कली मोही’ लाई जम्मा गरेर जग्गा दाबी गर्ने कामको नेतृत्व बाबुराजा महर्जनले गरेका थिए । महर्जनले पनि ‘नक्कली मोही’ बनेर जग्गा आफ्नो नाममा लिएको भेटिएको छ ।
शिवजी भट्टराई तत्कालीन वडा सचिव हुन् । असार १७ मा पक्राउ परेका भट्टराईले गैर कानुनी रूपमा जग्गा व्यक्तिको नाममा लैजानका लागी आवश्यक कागजात सिफारिस सिफारिस दिएका थिए ।
मुख्य आरोपित मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह, पूर्व सचिव रुद्र प्रसाद श्रेष्ठको बयान सकिएको छैन ।
पूर्व सचिव श्रेष्ठ भूमिसुधार तथा व्यवस्था विभाग महानिर्देशक हुँदा ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएको एसएसपी आचार्यले जानकारी दिए । श्रेष्ठ असार २६ मा पक्राउ परेका हुन् ।

