एकैपटक २७०० निर्माणाधीन आयोजनाको ठेक्का म्याद थप्‍दै सरकार


काठमाडौं – सरकारले निर्माणाधीन आयोजनाहरुको ठेक्काको म्याद थप गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको असार मसान्तसम्म म्याद सकिएका सबै ठेक्काहरुको म्याद थप्ने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जनाए ।

मन्त्री ज्वालाले दायरामा पर्ने विभिन्न आयोजनाहरुको म्याद थपिने जनाउँदै भने, ‘मंगलबार बसेको मन्त्रिपरिषद बैठकले निर्माणाधीन आयोजनाहरुको म्याद थप्ने निर्णय गरेको हो ।’

सरकारले केही सर्त राखेको र त्यसभित्र पर्ने सबै निर्माणाधीन आयोजनाहरुको म्याद थप हुने उनले बताए। त्यही अनुसार निर्माण कम्पनीहरुले रित पुर्‍याएर ठेक्काको म्याद थप गर्न सक्ने बताइएको छ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले २७०० आयोजनाहरुको म्याद यही असार मसान्तसम्ममा सकिने बताउँदै सबै निर्माण आयोजनाहरुको म्याद थप हुनुपर्ने बताउँछन्। यस्तै उनले सरकार सार्वजनिक खरिद ऐनको १३औं संशोधन गरेर मूल्य समायोजनको काम पनि गर्नुपर्ने भनाइ छ। यसअघि यस्ता आयोजनाहरुको अन्तिम पटक भन्दै सरकारले एक वर्षको लागि म्याद थप गरेको थियो। तर, उक्त समयमा पनि निर्माणले गति पाउन सकेका छैनन्।

ठुला विकासे आयोजनाको म्याद थप्नका लागि निर्माण व्यवसायीहरुले प्रत्येक वर्ष पहल गर्दछन् । सोही अनुसार यसपटक पनि सरकारले एकैपटक २७ सय बढी निर्माण आयोजनाको म्याद थपेको हो । यसपटक पनि निर्माण व्यवसायी महासंघले सरकारलाई ३ हजार भन्दा बढी आयोजनाको म्याद थप्नुपर्ने माग गर्दै पटकपटक पहल गरेपछि मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

तर पहल र भनसुनकै हिसाबले पटकपटक यसरी म्याद थप्दा निर्माण व्यवसायीहरुले काम अघि बढाउनेभन्दा पनि रोक्नेतर्फ ध्यान दिने गरेको सर्वसाधारणहरु बताउँछन् । जसरी पनि आयोजनाको समयावधि लम्ब्याउन पाउको खण्डमा खर्च पनि बढी लिन पाइने र आफूहरुलाई कामको प्रेसर नपर्ने भएको हुनाले निर्माण व्यवसायीहरु काम सम्पन्न गर्ने भन्दा पनि म्याद थपेर काम होल्ड गरिराख्ने ध्याउन्नमा लागेको एक कर्मचारीले नै बताए ।

प्रतिक्रिया