

नवलपुरमा बस दुर्घटना, ३७ जना घाइते

मकवानपुर – हेटौंडा-११ नवलपुरमा बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ मा अनियन्त्रित भएर बस पल्टिँदा ३७ जना घाइते भएका हुन् ।
नारायणगढबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खसेको हो । घाइतेमध्ये १० जनाको हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा र २७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
‘बस आफैं अनियन्त्रित भएर सडकबाट तल खसेको हो । सोही स्थानमा सडक निर्माणको काम भैरहेकोले चालक झुक्किएको हुनसक्ने अनुमान गरेका छौं’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौतमले भने, ‘घाइतेमध्ये केहीको अवस्था गम्भीर छ भने बाँकीको सामान्य रहेको छ ।’ दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको जानकारी दिँदै उनले चालक सम्पर्कमा नभएको बताए ।

