कोशी प्रदेशसभा बैठक बस्दै, प्रदेशसभा विघटन गर्ने मुख्यमन्त्री कार्कीको चेतावनी


विराटनगर – बिहीबार स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ ।प्रदेश सभाको बिहीबार बसेको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरिएको बैठक फेरि बस्न नसकेपछि शुक्रबार बस्ने भन्दै सूचना प्रकाशित भएको हो।

बिहीबार राति साढे ९ बजे प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना सार्वजनिक गर्दै बैठक शुक्रबार बस्ने जानकारी गराएका थिए ।

कोशी प्रदेश प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यलाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ।

यसअघि सभा कैठक बिहीबार दिउँसो १ बजे सञ्चालन हुने कार्य सूची रहे पनि करिब २ बजेमात्र सुरु भएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाउने भएपछि संसद बैठक टार्ने प्रयास गरेको देखिन्छ ।

मुख्यमन्त्री कार्कीले आफूले विश्वासको मत नपाए प्रदेशसभा विघटन गर्ने चेतावनीसमेत बिहीबारको प्रदेशसभा बैठकमै दिएका छन् । विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने भन्दै उनले मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने चेतावनी दिएका हुन् ।

 

प्रतिक्रिया