

साउदी विदेशमन्त्री इरानको पहिलो भ्रमणमा

तेहरान – साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फरहान इरानको पहिलो भ्रमणका क्रममा शनिबार तेहरान आइपुगेका इरानी सञ्चारमाध्यमले जनाएका छन् ।
भ्रमणका क्रममा साउदी अरबका उच्च कूटनीतिज्ञले तेहरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहलगायत इरानी अधिकारीसँग पत्रकार सम्मेलन अघि भेटवार्ता गर्ने अपेक्षा गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
राजकुमार फैसलको विदेशमन्त्रीका रूपमा पहिलो पटक इरानको भ्रमणका क्रममा इरानका राष्ट्रपति इब्राहिम रायसीसँग भेटवार्ता गर्ने योजना रहेको साउदी सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०१६ मा रियादले शिया धर्मगुरु निम्र अल–निम्रलाई मृत्युदण्ड दिएको विरोधमा भएको प्रदर्शनका क्रममा तेहरानस्थित दूतावास र उत्तरपश्चिमी शहर मशादस्थित वाणिज्य दूतावासमा आक्रमण भएपछि सुन्नी मुस्लिम शक्ति साउदी अरबले शिया नेतृत्वको इरानसँग सम्बन्ध विच्छेद गरेको थियो ।
तर गत मार्चमा दुई देशबीच सम्बन्ध सुधार्न र आ-आफ्ना दूतावास खोल्न चिनियाँ मध्यस्थतामा भएको सम्झौताले क्षेत्रीय सम्बन्धलाई परिवर्तन गरेको थियो । इरानी सरकारका प्रवक्ता अली बहादोरी जाहरोमीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार राजकुमार फैसलले भ्रमणका क्रममा तेहरानस्थित साउदी कुटनीतिक नियोग पुनः खोल्नका लागि केही कदम चाल्ने अपेक्षा गरिएको छ ।
गत जुन ६ मा इस्लामिक गणतन्त्र लेबनानले साउदी अरबमा रहेको आफ्नो दूतावास र वाणिज्य दूतावास पुनः खोलेको थियो । इरानी साजान्डेगी दैनिकले शनिबार साउदी दूतावासले तेहरानको एक होटलमा पुनः स्थापना गर्ने र त्यसपछि इरानी राजधानीमा आफ्नो स्थायी स्थानलाई सञ्चालन गर्ने जनाएको छ ।

