दोस्रो पटक पनि महाअभियोगमुक्त भए ट्रम्प


वासिङ्टन। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो पटक पनि महाअभियोगमुक्त भएका छन् । सिनेटमा दुई तिहाई बहुमत नपुगेपछि पूर्व राष्ट्रपति ट्रम्प महाअभियोगमुक्त भएका हुन् ।

सिनेटमा भएको मतदानमा महाअभियोगको पक्षमा ५७ मत र विपक्षमा ४३ मत परेको छ । ट्रम्पलाई महाअभियोग लगाउनका लागि दुई तिहाई बहुमत पुर्‍याउन सिनेटमा ६७ मत आवश्यक पर्थ्यो । त्यसका लागि १७ जना रिपब्लिकनहरुको मत आवश्यक पर्थ्यो ।

तर ७ जना रिपब्लिकन सांसदले मात्रै महाअभियोगको पक्षमा मतदान गरेकाले ट्रम्प आरोपकमुक्त भएका हुन् । गत जनवरी ६ मा ५ जनाको मृत्यु हुने गरी अमेरिकी संसद क्याटलमा भएको हिंसात्मक दंगा भड्काएको आरोपमा पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध दोस्रोपटक महाअभियोग लगाउने प्रयास गरिएको थियो ।

अमेरिकी इतिहासमा दुई पटक महाअभियोग लाग्ने उनी पहिलो राष्ट्रपति हुन् तर, दुवै पटक उनले मुक्ति पाए । यसअघि डिसेम्बर २०१९ मा तल्लो सदनले ट्रम्पलाई अन्य अभियोगहरूमा महाभियोग लगाउने प्रस्ताव पारित गरेको थियो तर सिनेटले फेब्रुअरी २०२०मा उनलाई सफाइ दिएको थियो । –एजेन्सी

प्रतिक्रिया