वर्षाका कारण नेपाल र भारतविचको खेल रद्द


काठमाडौं – एसीसी वुमन्स टी- २० इमर्जिङ टिम्स एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग १-१ अङक् बाँडेको छ। वर्षाका कारण खेल टस बिनानै रद्द हुँदै दुबै टिमले अङ्क बाँडेका हुन।

नेपालले बिहीबार भारत ‘ए’ सँग सेमिफाइनल पुग्ने प्रयासमा जितका लागि प्रतिस्पर्धाको तयारी गरेको थियो। तर एक अंक पाएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ। हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहान ११:४५ मा सुरु हुने तालिका रहेको थियो।

यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो। पाकिस्तान ए टिम विरुद्ध उत्कृष्ट बलिङका बाबजुत नेपाल ब्याटिङमा चुक्दा जितनजिक पुगेर पराजित भएको थियो। थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको थियो।

नेपालको यो एसीसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कपमा पहिलो सहभागिता हो। नेपालले समूह चरणको अन्तिम खेलमा १७ जुनमा घरेलु टोली हङकङसँग खेल्ने छ। नेपाललाई हङकङलाई पराजित गरेमा पाकिस्तान र भारतको नतिजाका आधारमा नेपालको सेमिफाइनल समिकरण तय हुने छ। प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्। सेमिफाइनल १९ जुनमा हुने छ। फाइनल २१ जुनमा हुने छ।

प्रतिक्रिया