काउन्सिल अध्यक्ष बस्नेतको पक्षमा आदेश


काठमाडौं – काठमाडौं जिल्ला अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

आफूविरुद्ध तथ्यहीन आरोप र गलत उजुरी परेको भन्दै त्यसको आधारमा हुने कारबाही रोक्न माग गर्दै उनी अदालत पुगेका थिए । त्यसमा भएको सुनुवाइपछि अदालतले उनको पक्षमा आदेश जारी गरेको हो ।

फेसबुक ह्याक भएको विषयमा विवाद भएपछि साइबर ब्यूरोमा केही दिन अघि उजुरी परेको थियो । मेसेन्जर दुरुपयोग भई भएका कुराकानीलाई बढाइचढाइ गरी उजुरी परेको र त्यसका आधारमा सञ्चार मन्त्रालयले समेत पत्र काटेपछि अदालतमा मुद्दा परेको थियो ।

प्रहरीले यसअघि नै उक्त उजुरीमा लिइएका दाबीमा तथ्य, प्रमाण र आधार नदेखिएको जनाइसकेको थियो । त्यसलगत्तै उजुरीकर्ताले ब्यूरोबाट उक्त उजुरी फिर्ता गर्ने प्रक्रिया थालिएको थियो ।

अदालतका न्यायाधीश दिपक खरेलको इजलासबाट त्यस्तो उजुरीका आधारमा गैरकानुनी कार्य अघि नबढाउन विपक्षीका नाममा आदेश जारी भएको हो ।

आफूले चलाउने फेसबुकमा केही दिन प्राविधिक समस्या भएको, सोही बीचमा भएका कल, मेसेजका बारेमा बस्नेतले प्रहरीको साइबर ब्यूरो र सार्वजनिक रूपमा समेत जानकारी गराएका थिए ।

प्रतिक्रिया