पाकिस्तानसँग नेपाल पराजित


काठमाडौं – हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पराजय भोगेको छ ।

पाकिस्तान ए ले दिएको ८८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ७८ रन मात्र बनाउन सफल हुँदा ९ रनको हार ब्यहोरेको हो ।

नेपालले ६ विकेटको क्षतिमा उक्त रन बनाएको थियो ।

नेपालका लागि ओपनर कविता कुँवरले ३२ बलमा सर्वाधिक २० रन बनाईन् । कविता जोशीले १७ बलमा अविजित १५ रन बनाईन् ।

नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तान ए का लागि सईदा शाह र तुवा हसनले समान २/२ तथा अनुशा नासिर र उम्मि हानीले समान १/१ विकेट लिईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलब २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनायो ।

पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा २८ रन बनाईन् । कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाउँदा गुल फरुजाले १८ बलमा ११ रन बनाईन् ।

नेपालले पहिलो ओभरमा नै विकेट लिएको थियो । कविता कुवँरले पहिलो ओभरमा नै इमन फतिमालाई शुन्य रनमा आउट गराएकी थिईन् ।

१९ औं ओभरमा ईन्दु बर्माले लगातार दुई विकेट लिएसँगै नेपाल खेलमा पुर्णत हाबी भएको थियो । कविता कुवँरले कप्तान फतिमा सानाको विकेट लिएसँगै पाकिस्तान ए ८७ रनमा समेटिएको थियो ।

ईन्दु बर्माले ३ तथा कविता जोशी, कविता कुवँर र सीता रानामगरले समान २र२ विकेट लिएका थिए ।

जितसँगै पाकिस्तान ए समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल भने दोस्रो स्थानमा रहेको छ ।

थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए रहेका छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।

प्रतिक्रिया