पौडीमा दोस्रो दिन थप ४ कीर्तिमान


काठमाडाैं – नेपाल पौडी सङ्घको आयोजनमा भएको ११ औँ एनएसए कप पौडी प्रतियोगिताको दोस्रो दिन थप चार कीर्तिमान कायम भएका छन् । दोस्रो दिन एलेक्सजेन्डर गादेगाद शाहले ५० मिटर र १०० मिटर फ्रिस्टायलमा दुई कीर्तिमान कायम गरेका हुन् ।

५० मिटर फ्री स्टायलमा एलेक्सले बिहान हिट चरणमा आफ्नै नाममा रहेको २४.९७ सेकेन्ड समयमा सुधार गर्दै २४.१२ सेकेन्डमा दुरी पुरा गरेका थिए । उनले फाइनलमा पुनः त्यस समयमा सुधार गर्दै २३.९७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे ।

यस्तै १०० मिटरमा एलेक्सले आफ्नो नाममा रहेको ५३.४१ सेकेन्ड समयमा सुधार गर्दै ५२.९६ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान कायम गरेका हुन् । यसै गरी १०० मिटर ब्रेष्ट स्ट्रोकामा विकास कुमालले शुभमका नाममा रहेको १ मिनट १०.५९ सेकेन्डलाई विस्थापित गर्दै १ मिनट १०.१४ सेकेन्ड समयलाई आफ्नो नाममा लेखाए । कुमालले हिजो पहिलो दिन दुई कीर्तिमान कायम गरेका थिए ।

यस्तै अर्को कीर्तिमान नाजिर हुसेनको नाममा रह्यो । आफ्नै नाममा रहकेको ४ मिनट १२.२३ सेकेन्ड समयमा सुधार गर्दै ४ मिनट १२.१७ सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरे ।

प्रतियोगितामा यु १० तर्फ पुरुषमा मायोन श्रेष्ठ र महिला तर्फ सिसोमबुम राई, ११—१२ तर्फ कल्किन श्रेष्ठ र रोयल प्रजापती, १३—१४ तर्फ अजल काजी ताम्राकार र मेगन गुरुङ, १५—१७ तर्फ अल्भिन महर्जन र रोशा न्यौपाने र खुला तर्फ एलेक्जेन्डर गादेगाद शाह र महिला तर्फ गौरिका सिंह र दुवाना लामा संयुक्त रुपमा उत्कृष्ट खेलाडी घोषित भए । गौरिका र दुवानाको समान अंक भए पश्चात दुवैलाई उत्कृष्ट घोषित गरिएको थियो ।

प्रतियोगितामा निशर्ग बाटिका स्कुल १२३ अंकका साथ प्रथम भयो । दोस्रो स्थानमा स्वस्ती श्री गुरुकुल ९८ अंक र तेश्रो स्थानमा लिङ्कन ५४ अंकका साथ रह्यो ।

बिजयी खेलाडी तथा टिमलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ्गले मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए ।

उमेर समूहका उत्कृष्ट खेलाडीहरुले नगद ३ हजार र खुला तर्फका खेलाडीले नगद १० हजार प्राप्त गरे । यस्तै कीर्तिमान राख्ने खेलाडीहरुले प्रत्येक कीर्तिमान बापत ५ हजार नगद प्राप्त गरेका थिए ।

प्रतिक्रिया