यौन दुर्व्यवहारको आरोपी मदन राई धरौटीमा रिहा


काठमाडौं – यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन्। सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलाशले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनी चार लाख धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारङले जानकारी दिए। खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले आइतबारमात्रै अदालतमा मुद्दा दायर गरेको थियो।

खोटाङ जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख संगिता न्यौपानेका अनुसार राईले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो।

ती व्यवस्था अनुसार बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ। त्यस्तै यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।

र यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ।

प्रतिक्रिया