
रघुगंगामा चिस्यान गृह निर्माण
बेनी – फलफूल र तरकारी भण्डारण गर्न रघुगंगा गाउँपालिकामा दुईवटा चिस्यान गृह निर्माण भएको छ। रघुगंगा गाउँपालिकाले वडा नम्बर २ को भगवतीमा २५ हजार र वडा नम्बर ५ को झिँमा २० हजार किलोग्राम क्षमताको चिस्यानगृह निर्माण गरेको हो।
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले कृषकले उत्पादन गरेका फलफूल र तरकारीलाई भण्डारण तथा बजारीकरणका लागि चिस्यान गृह बनाइएको बताए।
‘चिस्यानगृह भएपछि कृषि उपजलाई बेमौसममा बढी मूल्य पार्न सकिनुका साथै बजार नपाउने समस्या पनि हट्ने अपेक्षा गरेका छौं,’ उनले भने ‘सुन्तला, आलु लगायत तरकारी तथा फलफूललाई दुईदेखि पाँच महिनासम्म समय भण्डारण गरेर राख्न सकिन्छ।’
माघ फागुनमा बेग, भगवती, पिप्ले, दग्नाम, झिँ, पात्लेखेत, पाखापानीमा उत्पादन भएको सुन्तला र भदौ–असोजमा कुइने, चिमखोलाको आलु, दौडे भण्डारण गर्ने योजना छ।
चिस्यान गृहको भवनमा फलफूल र तरकारीलाई ताजा बनाइराख्ने अनुकुलित हावापानी बनाउने उपकरण जडान गरिएको छ।
सिजनमा उचित मूल्य नपाउने समस्या पनि चिस्यान गृह सञ्चालन भएपछि हट्ने अपेक्षा गरिएको छ। झिँमा २१ लाख ७८ हजार रुपैयाँको लागतमा चिस्यानगृह निर्माण भएको गाउँपालिकाका इञ्जिनियर सुदिप गौतमले बताए।
‘उपभोक्ता समितिसँग २३ लाख ४६ हजार ६६७ रुपैयाँमा सम्झौता भएको थियो,’ उनले भने ‘गाउँपालिकाले १९ लाख ६० रुपैयाँ भुक्तानी गरेको छ। उपभोक्ताले दुई लाख १७ हजार ६६० रुपैयाँ बराबरको श्रमदान गरेका छन्।’
संघीय सरकारले सशर्त अनुदान शीर्षकमा ११ लाख रुपैयाँ बिनियोजन गरेको चिस्यानगृह बनाउन गाउँपालिकाले पनि ११ लाख रुपैयाँ बिनियोजन गरेको थियो। भगवतीको चिस्यानगृह बनाउन डोलेश्वर महादेव कन्ट्रक्सन एण्ड सप्लायर्सले कर बाहेक ७९ लाख ७० हजार ८४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
भवन निर्माण र उपकरण जडानको काम सकेर हस्तान्तरणको चरणमा रहेको छ। यसअघि गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सहयोगमा अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा २० हजार किलोग्राम क्षमताको चिस्यानगृह निर्माण भएको थियो।
बेनी नगरपालिकाले वडा नम्बर ४ सिंगामा ३०० मेट्रिक्टन क्षमताको शीतभण्डार बनाउन शुरु गरेको छ। एक करोड ८३ लाख ४४ हजार ३७२ रुपैयाँ लागत अनुमान गरिएको चिस्यानगृह बनाउन राजेशवावु निर्माण सेवा जाजरकोटसँग एक करोड ५१ लाख २० हजार ७३८ रुपैयाँमा गत फागुन तेस्रो साता सम्झौता भएको नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताए।
आगामी असार मसान्तसम्म सम्झौताको म्याद रहेको सो योजनाको निर्माण कम्पनीले जग्गा व्यवस्थापन र पर्खाल निर्माण गरेर भुईँ ढलानको तयारी गरेको छ।



कागजपत्र |
