कैदीबन्दीलाई कोरोना खोप, २१ जनाले गरे अस्वीकार


संखुवासभा – जिल्ला कारागार खाँदबारीका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप निःशुल्करुपमा लगाइएको छ । खाँदबारी कारागारका १२० कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप गत शनिबार लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले जानकारी दिए । खाँदबारी कारागारमा अहिले १३२ पुरुष र नौ महिला कैदीबन्दी छन् ।

तीमध्ये १२० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । बाँकी २१ जना कैदीबन्दीले खोप लगाउन अस्वीकार गरेकाले उनीहरुलाई कोरोनाविरुद्धको खोप नलगाइएको जिल्ला कारागार खाँदबारी सङ्खुवासभाका प्रमुख विनोद अधिकारीले बताए ।

उनका अनुसार कारागारमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइएको छ । त्यस्तै मनकामना वृद्धवृद्धा आश्रमका २७ जनालाई समेत कोरानाविरुद्धको खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।

पहिलो चरणमा कोरोनाविरुद्धको खोप फ्रन्टलाइनमा काम गर्ने जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्यकर्मीलाई लगाइसकिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जनाकारी दिए ।

जिल्लामा पहिलो चरणको खोप स्वास्थ्य कर्मचारी र एम्बुलेन्स चालकलाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ । सङ्खुवासभामा माघ १५ गतेदेखि कोरानाविरुद्धको खोप लगाउन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।

सङ्खुवासभामा कूल २१ सय डोज खोप प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने ९०० भन्दाबढीलाई कोरोनाविरुद्धको खोप लगाइ सकिएको र अब क्रमशः सुरक्षा क्षेत्रमा काम गर्ने सुरक्षाकर्मी, सञ्चारकर्मी र सेवाग्राही र निजामती कर्मचारीलाई समेत खोप लगाउने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।

प्रतिक्रिया