विद्यालयलाई स्ट्रेचर र औषधि वितरण


संखुवासभा – खाँदबारी नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक माध्यमिक विद्यालयलाई स्ट्रेचरका साथ आवश्यक प्राथमिक उपचारका सामग्रीसहित औषधि वितरण गरेको छ ।

नगरपालिका क्षेत्रभित्रका १३ वटा सामुदायिक विद्यालयलाई आवश्यक प्राथमिक उपचारका सामग्रीसहित औषधि र नगरका आठ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्ट्रेचर वितरण गरेको नगरपालिकाले जनाएको छ ।

स्ट्रेचर वितरण गर्ने विद्यालयमा आदर्श मावि पाठकगाउँ, आदर्श मावि पिप्ले, सरस्वती मावि माल्टा, विद्योदय मावि तल्लो पाङ्ठा, जालपा मावि चेवा, हिमालय मावि आङ्ला, जनता मावि चन्दनपुर, विद्यामन्दिर पाठकगाउँ रहेको नगरपालिकाका शिक्षा शाखा अधिकृत दीपकमणि घिमिरेले जानकारी दिए।

नगर क्षेत्रभित्र अहिलेसम्म सडकको सुविधा नपुगेका १३ वटा माध्यमिक विद्यालयमध्ये आठ वटा विद्यालयलाई स्ट्रेचर वितरण गरिएको खाँदबारी नगरपालिका नगर प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए ।

उनका अनुसार विद्यार्थीलाई विद्यालय समयमा रहँदा आकस्मिक चोटपटक लाग्दा तत्काल सवारी साधन नभएको अवस्थामा तुरुन्तै स्वास्थ्य संस्था लैजानका लागि सहज पुगोस् भन्ने उद्देश्यका साथ स्ट्रेचर वितरण गरिएको र स्वास्थ्य संस्था पुग्नुभन्दा अगाडि आफ्नै विद्यालयमा प्रारम्भिक उपचार पाओस् भन्ने उद्देश्यका साथ औषधि वितरण गरिएको उनले बताए ।

जालपा मावि चेवाका प्रधानाध्यापक श्याम अधिकारीले विद्यालयमा आकस्मिक दुर्घटना हुँदा यसले उद्धारमा सहयोग र सहज पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया