शेयरबजारमा करेक्सन, लगातार एक साता बढेको बजार १७.३८ अंकले घट्यो
काठमाडौं – आइतबार नेप्सेमा करेक्सन आएको छ। लगातार सात दिन सेयर बजार राम्ररी बढेकाले बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा करेक्सन आएको हो। सोही कारण आइतबारको बजार सामान्य प्रभावित भएको हो।
आज नेप्से परिसूचक १७.३८ अंकले घटेको छ। यस दिन नेप्से ०.८९ प्रतिशतले घटेर १९४१.७४ बिन्दुमा पुगेको छ।
आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९ रुपैयाँ पुगेको छ।
यस दिन २७० वटा धितोपत्रको ७० लाख ५० हजार ३९ कित्ता सेयर किनबेच भएको हो।
आइतबार आत्मनिर्भर लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
आत्मनिर्भर लघुवित्तको प्रतिकित्ता मूल्य एक हजार ६५३ रुपैयाँ ३० पैसा र युनियन लाइफ इन्स्योरेन्सको प्रतिकित्ता मूल्य ३९३ रुपैयाँ ८० पैसा पुगेको छ।
यसैगरी, हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्य सर्वाधिक ६।४० प्रतिशतले घटेर प्रति कित्ता मूल्य २७८ रुपैयाँमा झरेको छ।
यस्तै, न्यादी हाइड्रोपावको सेयर मूल्य ५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २८५ रुपैयाँमा सीमित भएको छ।
आइतबार पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४६८ रुपैयाँ २० पैसामा २१ करोड ७९ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ। उक्त कम्पनीको ८०० रुपैयाँमा ९ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ।
यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.७७ प्रतिशतले घटेको छ।