आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी


काठमाडौं – नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र तयार गरिरहेको छ । प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुन सक्ने कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

उक्त घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन् । प्रहरीले अरू थप १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने राय दिएको जनाइएको छ ।

 

प्रतिक्रिया