पूर्वी लद्दाखमा चीनसँग भारतको सीमा सम्झौता


भारत – भारत र चीनबीच विवादित सीमा क्षेत्र लद्दाखलाई लिएर सम्झौता भएको छ । भारतका रक्षा मन्त्री राजनाथ सिंहले बिहीवार पूर्वी लद्दाखको वर्तमान स्थितिबारे संसदलाई जानकारी गराएका छन् ।

उनले भने, ‘चीनसँग प्याङगोङ तालको उत्तर र दक्षिण क्षेत्रमा सेनालाई पछि हटाउने सहमति भएको छ । हाम्रो दृढ सङ्कल्प र अर्थपूर्ण वार्ताका कारण चीनसँग सहमति भएको हो, सदनलाई यो कुरा भनिरहँदा निकै खुसी लागेको छ ।’

पूर्वी लद्दाखमा भारत र चीन सीमा (वास्तविक नियन्त्रण रेखा ‘एलओसी’) मा दुई देशबीच झण्डै दश महिनादेखि तनाव भइरहेको छ । यस सीमा विवादलाई सुल्झ्याउनका लागि दुई देशबीच अहिलेसम्म नौ पटक उच्चस्तरीय सैन्य वार्ता भइसकेको छ ।

भारतका रक्षा मन्त्री सिंहले भनेका छन्, ‘भारतले सधैँ चीनलाई द्विपक्षीय सम्बन्ध दुवै पक्षको प्रयासमा विकसित हुन सक्छ भन्दै आएको छ । साथै सीमाको प्रश्न पनि छलफलको माध्यमबाट सुल्झाउन सकिन्छ ।’

गएको जुन १५ मा चिनियाँ सेनासँगको सङ्घर्षका क्रममा २० भारतीय सैनिकको ज्यान गएको थियो  ।

 

प्रतिक्रिया