

१४ पत्रकारले पाए पुननिर्माण र पुनर्स्थापना लेखनवृत्ति पुरस्कार

काठमाडाैं – भुकम्पबाट अति प्रभावित १४ जिल्लाका पत्रकारहरूलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल–पुननिर्माण र पुनर्स्थापना लेखनवृत्ति सम्मान प्रदान गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल र नेपाल पत्रकार महासंघको सहकार्यमा १४ जिल्लाका पत्रकारलाई साे सम्मान प्रदान गरिएकाे हाे ।
सम्मानित हुनेहरूमा गाेरखाका भिमलाल श्रेष्ठ, धादिङका नवराज छत्कुली, काभ्रेका मोतीराम तिमल्सिना, सिन्धुलीका राजकुमार कार्की, रसुवाकी अनुकुमारी आचार्य, काठमाडाैंकी विद्या राई, सिन्धुपाल्चाेककी दुर्गा आचार्य, मकवानपुरकी सम्झना रिजाल, ओखलढुंगाका शिवप्रसाद ढुंगाना रहेका छन् ।
यस्तै ललितपुरका रामहरी कार्की, भक्तपुरकी सम्झना पाैडेल, नुवाकाेटकी शर्मिला उप्रेती, दाेलखाकी उषा तामाङ र रामेछापकी जानुका पाैडेलले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल– पुननिर्माण र पुनर्स्थापना लेखनवृत्ति सम्मानबाट सम्मानित भएका छन् ।
सम्मानित पत्रकारहरूलाई फागुन २ गते दिउँसो १ बजे महासंघ केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बिच नगद १२ हजार र प्रमाणपत्रद्वारा सम्मान गरिने महासचिव रमेश विष्टले जानकारी दिए ।

