

एकपल्ट माओवादी भएर काम गर्न प्रधानमन्त्रीलाई विप्लवको सुझाव

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको विरोधमा भएको भन्दै उनले अहिले पनि त्यस्तै स्थिति आइरहेको दाबी गरे । सरकारले मन्त्रिपरिषदमा जनचाहनाअनुरूपका प्रस्तावहरु गरे आफूले सडकबाट साथ दिने विप्लवको भनाइ छ ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकपटक पुनः माओवादी बनेर काम गर्न आग्रह गरे । ‘मैले भनेको छु– क्याबिनेटमा प्रस्ताव गर्नुहोस्, हामी रत्नपार्कको सडकमा बसेर साथ दिनेछौँ । हामी हरेक नराम्रा कामको विरुद्धमा उभिन तयार छौं । तर, एकपल्क प्रचण्ड कमरेड फेरि माओवादी जस्तो बन्नु पर्छ,’ उनले भने ।

