
भुटानी शरणार्थी प्रकरणमा संलग्न जुनसुकै ओहदाको भएपनि कारबाही गरिनेछ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको सांगठनिक ठगी अपराध भएको भन्दै त्यसमा संलग्न कसैलाई पनि उम्किन नदिने बताएका छन् ।
उक्त प्रकरणमा संलग्न जुनसुकै ओहदाको भएपनि कारबाही गरिने र प्रहरी प्रशासनलाई अनुसन्धानमा कुनै पनि हस्तक्षेप हुन नदिने पनि प्रधानमन्त्रीले दृढता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले सोधेको प्रश्नको जवाफमा नक्कली शरणार्थी प्रकरणलाई सरकारले संवेदनशील रूपमा लिएको बताए । उक्त प्रकरणमा ‘भीभीआईपी विरुद्ध प्रमाण भेटिए के गर्नुहुन्छ ? कारबाहीको दायरामा ल्याउनुहुन्छ कि हुन्न ?’ भन्ने प्रश्न कुँवरले गरेका थिए ।
‘भ्रष्टाचारसँग सम्बन्धित अन्य प्रकरणको पनि कानुन अनुसार अनुसन्धान र कारबाही हुने व्यहोरा प्रष्ट गर्न चाहन्छु । दोषी कोही पनि उम्किन नपाओस्, निर्दोष कोही पनि नउम्कियोस् भन्ने हाम्रो जोड रहेको छ,’ उनले भने, ‘जुनसुकै तह र तप्काका भएपनि यो अपराधमा संलग्न जोकोही पनि कानुनको दायरामा आउने नै छन् । त्यो प्रक्रिया अगाडि बढिरहेको पनि छ । भीआईपी/भीभीआईपीहरू पनि परिरहेका त छन् । यसमा स्वतन्त्र र निष्पक्ष छानबिन भइरहेको कुरा त्यसले पनि प्रमाणित गर्दछ ।’ उक्त घटनामा सरकारले कुनै आग्रह र पूर्वाग्रह नलिइ निष्पक्ष, तटस्थ छानबिन हुने उनले बताए । छानबिनबाट अन्तिम निष्कर्ष निकाली अपराधीलाई कानुनको दायरामा ल्याउन जोड गरेको उनले प्रष्ट पारे ।
नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरीले निष्पक्ष र व्यावसायिक अनुसन्धान गरिरहेको बताएका छन् । प्रहरीलाई उक्त विषयमा कुनै पनि हस्तक्षेप नगरिने र हुन पनि नदिने धारणा राखे ।



कागजपत्र |
