रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दको घोषणा गर्ने नाउपाकाे चेतावनी


काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गर्ने चेतावनी दिएको छ ।

सो पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै सो पार्टीले कोणसभा र प्रदर्शनबाट माग पुरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने घोषणा गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी रेशम चौधरीलगायत टीकापुर घटनामा मुछिएर जेलमा रहेकालाई रिहा गर्न माग गरे ।

यी माग पुरा नभए नेपाल बन्द सम्मका कार्यक्रम ल्याइने बताउँदै उनले पाँच गतेसम्म देशैभरि कोणसभा तथा विरोध प्रदर्शनका कार्यक्रम गर्ने बताए । त्यसपछि पनि माग पुरा नभए जेठ ६ गतेदेखि नेपाल बन्द कार्यक्रम ल्याउने चेतावनी उनले दिए ।

यो अदालती मुद्दा नभई राजनीतिक मुद्दा भएकाले सरकारले तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा पण्डितले जोड दिए ।

पार्टीले सर्वोच्च अदालतको निर्णयको विरोधमा आन्दोलन गर्ने घोषणा गरे पनि जेलमा रहेका चौधरीले भने एक विज्ञप्ति जारी गरी अदालतको निर्णय स्वीकार गरेका छन् ।

प्रतिक्रिया