

फ्रेन्ड्सलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लियो

काठमाडौं – फ्रेन्ड्स क्लबविरुद्ध ४-१ को फराकिलो जित निकाल्दै जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । आज (बिहीबार) च्यासल रंगशालामा सम्पन्न खेलमा जावलाखेललाई जित दिलाउन एन्कोटो मोसाबीले दुई गोल गर्दा राहुल र फोडे फोफानाले समान एक गोल गरे ।
फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले एक गोल फर्काए । खेलको २५औँ मिनेटमा राहुलको गोलबाट जावलाखेलले अग्रता बनाएको थियो । त्यसको ६ मिनेटपछि मोसाबीले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे । ६४औँ मिनेटमा मोसाबीले नै जावलाखेलको अग्रतालाई ३ -० मा पुर्याए ।
खेलको ८०औँ मिनेटमा श्यामले गोल गरेपछि फ्रेन्ड्सले अग्रतालाई ३-१ मा झारेको थियो । तर, इन्जुरी टाइममा फोफानाले गोल गरेपछि जावलाखेलले ४-१ को जित निश्चित गर्यो । जितसँगै शीर्ष स्थानमा उक्लिएको जावलाखेलले १७ खेलबाट ३० अंक जोडेको छ ।
जावलाखेलले शीर्ष स्थानमा चर्च ब्वाइज युनाइटेडलाई पछि पारेको हो । १६ खेलबाट ३० अंक नै जोडेको भए पनि चर्च दोस्रो स्थानमा छ । यता, तालिकाको ११औँ स्थानमा रहेको फ्रेन्ड्सले १७ खेलबाट १९ अंक जोडेको छ ।

