
यसरी पक्राउ परे पूर्वगृहमन्त्री बालकृष्ण खाँण
डा. आरजु र मञ्जु पनि प्रहरीको उच्च निगरानीमा !
काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको क्रममा प्रहरीले केही दिनदेखि अनुसन्धानमा तीब्रता दिँदै आएको थियो । सोही अनुरुप आफ्नै पूर्वमन्त्री बालकृष्ण खाँणलाई बुधबार बिहान पक्राउ गर्यो ।
हनुमानथानस्थित आफ्नै घरमा नबसेर चाबहिल चुच्चेपाटीस्थित भाडाको घरमा बस्दै आएका खाँणलाई पक्राउ गर्नका लागि उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसी आफैं खटिए ।
बुधबार बिहान ‘ब्रेक फास्ट’ गर्नुपूर्व नै उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) डा. मनोज केसीको कमाण्डमा खटिएको टोलीले पक्रिएर परिसर पुर्याएको हो ।
त्यसअघि उनलाई पक्राउ गर्नका लागि महानगरिय प्रहरी परिसर काठमाडौंको सिभिल टोली पुगेको थियो । तर, खाँणले घरको ढोका नखोलेपछि उनलाई पक्राउ लिनका लागि महाशाखा प्रमुख एसएसपी डा. केसी आफैं पुगेका हुन् । नियन्त्रणमा लिनका लागि परिसरका टोली बिहानैदेखि खटिए पनि खाँणले ढोका नखोलेपछि डा. केसीको कमाण्डमा रहेको प्रहरीले ढोका फोडेर खाँणलाई पक्राउ गरेको थियो ।
बिहानैदेखि उक्त क्षेत्रमा प्रहरीको उपस्थिति देखेपछि सधैं सूर्यलाई जल चढाउने खाँण घरको छतमा सम्म पनि ननिस्किएको उनका छिमेकीले जनाए ।
पक्राउका क्रममा खाँणले केही प्रतिबाद गरेता पनि एसएसपी केसीको कमाण्डमा रहेको प्रहरीले उनलाई सहज रुपमा नियन्त्रणमा लिएको थियो ।
प्रहरीले खाँणसँगै उनका स्वकिय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीको बयानका आधारमा प्रहरीले खाँणलाई पक्राउ गरेको हो । भण्डारीले खाँणलाई गृहमन्त्रालयमै गएर नगद रकम बुझाएको बयान प्रहरीलाई दिएका थिए । त्यस बयानलाई आधारमान्दै गरेको अनुसन्धानपछि प्रहरीले खाँणलाई पक्राउ गरेको हो ।
खाँणलाई ‘जरुरी पत्र’ दिएर पक्राउ गरेकोले प्रहरी खाँण पनि टोपबहादुर रायमाझी जस्तै ‘फरार’ हुनसक्ने आशंकाले सो अगावै नियन्त्रणमा लिएको हो । परिसरमा बयान लिइसकेपछि अहिले खाँणलाई पक्राउ पूर्जी र म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेश गर्ने भएको छ ।
भुटानी शरणार्थीको प्रकरणमा प्रधानमन्त्री र वर्तमान गृहमन्त्रीको दरिलो साथ पाएको प्रहरीले संलग्न अन्यमाथि पनि अनुसन्धान गहिरो बनाएको छ । त्यस क्रममा खाँणपत्नी मञ्जु खाँणका साथै कांग्रेस सभापति शेरबहादुर देउवापत्नी डा. आरजु देउवा पनि मुछिएका छन् । उनीहरुका बारेमा पनि गहिरो अनुसन्धान गरिरहेको र उनीहरुमाथि उच्च निगरानी बढाइरहेको पनि प्रहरीका एक उच्च स्रोतले जनायो ।
प्रहरीले अनुसन्धानमा उनीहरुको संलग्नता रहेको खुल्नासाथ उनीहरुलाई कुनै पनि बेला पक्राउ गर्नसक्ने जनाइएको छ ।



कागजपत्र |
