
ओली एक्शनः ज्ञानेन्द्रका ४० र प्रचण्डका ४३ सुरक्षाकर्मी फिर्ता
काठमाडौं– सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहल प्रचण्डलगायत पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई कटौती गरेको छ ।
गत साता सरकारले उक्त निर्णय गरेसँगै सशस्त्र प्रहरी बलले सुरक्षाकर्मी फिर्ता बोलाउन थालेको हो । सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार नेपाली काग्रेसका नेता रामचन्द्र पौडेलको सुरक्षामा खटिएका पछुवा गाडीसहित ६ जना सुरक्षाकर्मी फिर्ता भएका छन् ।
त्यस्तै पूर्वसभामुख ओनसरी घर्ती, कृष्णबहादुर महरा, भीम रावललगायतका फिर्ता भईसकेका छन्।
ज्ञानेन्द्रको सुरक्षामा एक कमाण्डरसहित ५६ सुरक्षाकर्मी खटिदै आएको थियो । अब ज्ञानेन्द्रको सुरक्षामा एक कमाण्डरसहित १६ सुरक्षा कर्मी मात्र रहने छन् ।
प्रचण्डको लागि पनि ५९ भन्दा बढी सुरक्षाकर्मी खटिएका थिए । अब उनको सुरक्षामा पनि एक कमाण्डर र एक गाडीसहित १६ जना सुरक्षाकर्मी रहने छन् ।
सुरक्षाकर्मीको दुरुपयोग भएको ठहर गर्दै सरकारले अनावश्यक रुपमा खटिएका सशस्त्रका फौजलाई फिर्ता बोलाउने निर्णय गत साता गरेको थियो ।
स्रोतका अनुसार गोपालमान श्रेष्ठबाट गाडीसहित ६ जना, बामदेम गातैमबाट गाडीसहित ६ जना, भिम रावलबाट गाडीसहित ५ जना, बिजयकुमार गच्छादारबाट गाडीसहित ५, कमल थापाबाट गाडीसहित ६ जना मंगलवार बेलुकासम्म फिर्ता भईसकेका छन् ।
प्रकाशमान श्रेष्ठ, बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, जर्नादन शर्मा, पूर्ण खड्का, शान्ती बस्नेत, गोबिन्दराज जोशी, रामशरण महत, प्रकाश शरण महत, शेरबहादुर देउवालगायतको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई पनि फिर्ताको लागि आदेश भईसकेको सशस्त्र प्रहरी बलका प्रबक्ता राजु अर्यालले बताए ।
सरकारको निर्णयअनुसार अब पूर्व प्रधानमन्त्रीले एक कमाण्डर र गाडीसहित १५ जनामात्र सुरक्षाकर्मी राख्न पाउने छन्। यस्तै न्यायाधीशले एक कमाण्डरसहित ५ जना र गृह सचिवले एक कमाण्डर सहित ४ जना सुरक्षाकर्मी राख्न पाउने छन् ।
पूर्वराष्ट्रपतिले एक कमाण्डरसहित १० जनामात्रै सुरक्षाकर्मी राख्न पाउने छन् । भिआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई अनावश्यक घरायसी काम काजमा खटाउन थाले पनि सरकारले सुरक्षाकर्मीको कटौती गरेको स्रोतको दाबी छ ।



कागजपत्र |
