

रास्वपाकी नेतृ विन्दाबासिनी कंसाकार बनिन् समानुपातिक सांसद

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ ।
सांसद रहेका ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेर उनको ठाउँमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगमा पत्र दिएको थियो ।
आयोगको राजनीतिक दल व्यवस्थापन शाखा प्रमुख गुरुप्रसाद वाग्लेले श्रेष्ठ निलम्बित भएपछि उनको ठाउँमा रास्वपाले कंसाकारलाई सांसद बनाउन पत्राचार गरेको र सो पत्र अनुसार निर्णय भएको जानकारी दिए । विन्दाबासिनी कंसाकार सांसद हुने निर्णय आयोगले अघिल्लो साता नै गरेको हो ।
निर्वाचन आयोगबाट कंसाकारले सांसद भएको प्रमाणपत्र समेत लिइसकेकी छन् । आइतबार उनले सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र बुझेको आयोगले जनाएको छ ।
साथै, आयोगले कंसाकार सांसद निर्वाचित भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पठाइसकेको छ । समानुपातिक तर्फकाे सूचीमा रहेका ढाकाराम निलम्बित भएपछि कंसाकारलाइ सांसद बनाइएको हो ।
तर सोमबार आफ्नो पद खारेजीविरुद्ध सर्वोच्च गएका ढाकाकुमार श्रेष्ठको रिटमा भने सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

