नागरिकता विधेयकमा सत्ता गठबन्धनको चासो, कानून व्यवसायीसँग छलफल


काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता गठबन्धनका शीर्ष नेताले रोकिएको नागरिकता विधेयकबारे कानून व्यवसायीसँग छलफल गरेका छन् ।

सत्ता गठबन्धनको बैठक बसेकै दिन बालुवाटारमा बोलाएर प्रधानमन्त्रीसहितका नेताले कानून व्यवसायीसँग छलफल गरेका हुन् ।

‘नागरिकता विधेयकका सम्बन्धनमा प्रधानमन्त्रीले तपाईंहरूको धारणा के छ भनेर बोलाउनुभएको थियो । हामीले २१ हजार कानून व्यवसायीबाटै नागरिकता विधेयक रोक्नुपर्ने अवस्था नरहेको सुझाव दिएका छौं’ नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, ‘गत फागुनको १२ र १३ गते हाम्रो कार्यकारिणी परिषद्का् बैठक र यसले पास गरेको घोषणापत्रको १९ नम्बर बुँदामा संसदले पास गरेको विषयलाई पास गर्नुपर्छ भनेका थियौं तर राष्ट्रपति प्रमाणीकरण भएन । फेरि पनि नयाँ राष्ट्रपतिले यो विषयलाई अगाडि बढाउन मिल्छ भन्ने हाम्रो कुरा हो ।’

संसदका दुवै सदनले पास गरेर पठाएको नागरिकता विधेयकलाई दुवै सदनले पारित गरेर दोस्रोपटक प्रमाणीकरणका लागि पठाए पनि ५ असोज २०७९ सम्म तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेकी हुन् । रामचन्द्र पौडेल नयाँ राष्ट्रपति भएपछि फेरि यो विधेयकलाई अगाडि बढाउन कानूनीसहित पक्षबारे प्रधानमन्त्रीले महान्यायाधिवक्त, कानुनविद् र व्यावसायीसहितसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्रीले सुझाव माग्न बोलाएको भने पनि के गर्ने भन्नेबारे कुनै जानकारी नदिएको घिमिरे बताउँछन् ।

नयाँ राष्ट्रपतिले चाहँदा यो विषयलाई अगाडि बढाउन सक्ने राय कानुनविद्हरूले दिएका छन् ।

प्रतिक्रिया