केपी ओलीलाई पदमा एक मिनेट पनि बस्ने अधिकार छैन : नारायणकाजी श्रेष्ठ


काठमाडौं – नेकपाका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारमा बसिरहने आधार समाप्त भइसकेको बताएका छन् ।

विरोध सभामा श्रेष्ठले अवैधानिक सरकारको प्रतिगामी कदम, अवैधानिक नियुक्तिहरू, बलमिच्याइँपूर्ण र ज्यादतीपूर्ण कामहरूको अन्त्य गर्नका लागि संघर्ष थालिएको बताएका हुन् ।

‘उहाँ आफैँले असंवैधानिक ढंगले प्रतिनिधिसभाको विघटन गर्नुभयो, त्यसैले केपी ओली अहिले संसद्को सदस्य छैनन्, अब राष्ट्रपतिले कामचलाउ सरकारको घोषणा पनि नगरेको अवस्थामा यो अवैधानिक सरकार हो, असंवैधानिक काम गर्ने सरकार अवैधानिक हो,’ उनले भने, ‘अब केपी ओलीलाई एक मिनेट पनि सरकारमा बस्ने अधिकार छैन ।’

उनले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमलाई असफल बनाएर संसदलाई सुचारु बनाउने यो संघर्षको पहिलो उद्देश्य भएको बताए ।

उनले अवैधानिक र असंवैधानिक ढंगबाट संवैधानिक परिषद्का पदाधिकारीहरूको नियुक्ति भएको भन्दै त्यसको खारेजीका लागि संघर्षमा उत्रिन आग्रह गरे ।

प्रतिक्रिया