सैन्य ‘कू’विरुद्धः प्रदर्शनका क्रममा एक जना घाइते, सामाजिक सञ्जालमा प्रतिबन्ध कायमै
म्यान्मारमा सैन्य ‘कू’विरुद्ध प्रदर्शनमा उत्रिएकी एक महिलालाई गोली लागेको छ । उनी गम्भीर घाइते भएकी छिन् । उनको अवस्था नाजुक रहेको बीबीसीले जनाएको छ ।
ती महिला मङ्गलवार राजधानीमा आयोजित प्रदर्शनमा सहभागी भएकी थिइन्। प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो ।
गत साता सैन्य कू भएपछि त्यसको विरोधमा दशौँ हजार मानिसहरूले विरोध गरिरहेका छन् ।
बुधवार बिहान पुनः विरोध प्रदर्शन सुरु भएको छ । राजधानीमा आयोजित पाँचौँ दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन् ।
सामाजिक सञ्जालमा प्रतिबन्ध
म्यानमारमा राजनीतिक अस्थीरता बढ्न थालेपछि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत् अशान्ति फैलाइएको भन्दै सेनाले देशमा स्थायित्व कायम राख्न प्रतिबन्ध लगाएको जनाएको छ ।
‘कू’ लागू गरेसँगै इन्टरनेट सेवा, बैंकिङ तथा टेलिफोन सेवा आंशिक रुपमा बन्द गरेको सेनाले हालै फेसबुक प्रयोगमा समेत प्रतिबन्ध लगाएको छ । म्यानमारमा पाँच करोड ३० लाख जनसंख्यामध्ये झण्डै आधा जनता फेसबुकमा सक्रिय रहेको र सेनाको कदमविरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना भएकाले सेनाले फेसबुक प्रयोगमै रोक लगाएको हो ।
सेनाले म्यानमारमा एक वर्षसम्म सैनिक शासन लागू हुने घोषणा गरेको छ । त्यसपछि निर्वाचित सरकारलाई शासन हस्तान्तरण गर्ने सेनाको भनाइ छ ।