नयाँ बानेश्वरमा प्रधानमन्त्रीको पुतला जलाइयो


काठमाडौं – प्रमुख प्रतिपक्ष दल एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको पुतला दहन गरेको छ ।

शनिबार अपराह्न काठमाडौंको नयाँ बानेश्वरमा सरकारविरुद्ध उत्रिएका युवा संघ, नेपालका नेता तथा कार्यकर्ताहरूले अयोग्य लडाकुलाई २ लाख रुपैयाँका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाव दिँदै प्रधानमन्त्री दाहालको पुतला जलाएका हुन् ।

त्यसक्रममा उनीहरूले लडाकुको नाममा अर्बौ रकम घोटाला गर्न खोजेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए। अयोग्य लडाकुहरूको नाममा आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने गरी ल्याइएको उक्त कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलनको आँधीबेहरी सृजना गरी सरकारलाई घुँडा टेकाउन बाध्य हुने युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिए।

राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार (हिजो) अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी अयोग्य लडाकुलाई राहत स्वरूप २ लाख रुपैयाँका दरले दिने गरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो।

प्रतिक्रिया