

एसीसी कप : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं – एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित तियु खेल मैदानमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०।३ ओभरमा सबै विकेटमा सबै विकेट गुमाएर १५७ रन जोडेको थियो । नेपालका दशौं नम्बरमा आएका सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए । ५८ बलको सामना गरेका उनले ६ चौका हानेका थिए । उनी नै बिहीबारको खेलको प्लेयर अफ दि म्याच बने ।
कप्तान रोहितकुमार पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्र सिंह ऐरीले १२, सोमपाल कमी र आरिफ शेखले ११र११ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेका थिएनन् ।
कतारका अमिर फारुकले ४ विकेट लिंदा ओवाइस अहमदले तीन विकेट आफ्नो नाममा लेखाएका थिए ।

