
जसले आफूलाई भोट हाले उनीहरुले नै हार ब्यहोरे…
काठमाडौं – वैशाख १० मा सम्पन्न उपनिर्वाचनका लागि मतदान भएका ३ निर्वाचन क्षेत्रमध्ये २ वटा क्षेत्रमा मतगणना सम्पन्न भइसकेको छ । यी दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अत्याधिक मतसहित जित हात पारेका छन् ।
तनहुँ–१ बाट रास्वपाका स्वर्णिम वाग्ले विजयी भएका छन् भने चितवन–२ बाट पार्टी अध्यक्ष रवि लामिछानेले विशाल मतान्तरको जित हात पारेका छन् । भने बारा– २ मतगणना जारी रहेको छ ।
मतपरिणामअनुसार गज्जबको संयोग देखिएको छ । चितवन र तनहुँ दुवै निर्वाचन क्षेत्रमा आफूलाई मत नहालेका उम्मेदवारले जित हात पारेका छन् भने आफैंलाई मत हालेका उम्मेदवारहरुले हार ब्यहोरेका छन् । तनहुँ र चितवनमा उम्मेदवारी दिएका दुवै कांग्रेसी उम्मेदवारले मतदान गरेका थिए भने नेकपा एमालेका दुवै उम्मेदवारले आफूलाई मत हाल्न पाएका थिएनन् । चितवनबाट उम्मेदवारी दिएका रामप्रसाद न्यौपाने चितवनकै भए पनि उनको मतदाता नामावली चितवन क्षेत्र नं. ३ मा रहेको थियो भने तनहुँबाट उम्मेदवारी दिएका सर्वेन्द्र खनालको नामावली काठमाडौंमा रहेको थियो ।
चितवनबाट निर्वाचित रवि लामिछानेको मतदाता नामावली चितवनमा नरहेका कारण उनले आफूलाई मत हाल्न पाएनन् । तर उनले निर्वाचनमा गत मंसिरमा भन्दा बढी मत र मतान्तरसहित जित हात पारे । रविले सोही आफैंलाई मत हालेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई ४३ हजार भन्दा बढी मतान्तरले पराजित गरे । यी दुईसहित चितवनमा २२ उम्मेदवारहरुले उम्मेदवारी दिएका थिए ।
चितवनमा रामप्रसाद न्यौपाने (१०९३६), जीवलाल पुरी (३७५), टेकबहादुर तामाङ (२११), जनकराज शर्मा (११०), राजेश अधिकारी (७५), प्रेमबहादुर खड्का (७२), ज्ञानेन्द्र प्रजा (४७), योगलाल श्रेष्ठ (४१), छत्रकुमार पाख्रिन (३८), अम्बिका भट्ट (३७), भाष्करचन्द्र न्यौपाने (२१), लक्ष्मीमाया कोइराला बुढाथोकी (२१), सुमन श्रेष्ठ (१९), महानन्द जैसी (१८), मोजराज बगाले (१६), विक्रम श्रेष्ठ (१३), सुवास परियार (१२), रामकृष्ण ओझा (९), सन्तोष थापा (३) र ताराप्रसाद पौडेल (२) चुनावी मैदानमा थिए ।
त्यस्तै तनहुँ– १मा पनि आफैंलाई मत हालेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले हार व्यहोरे । उनलाई २४ दिन अघि कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका स्वर्णिम वाग्लेले पराजित गरे । तनहुँमा पनि आफूलाई मत हाल्ने गरी चुनावी मैदानमा उत्रिएका अरु उम्मेदवारहरुले पराजय भोगेका छन् ।
तनहुँमा ९ जना चुनावी मैदानमा थिए । त्यस्तै तनहुँबाट शोभा गुरुङ (२१८), प्रेमबहादुर थापा (१६६), भिमबहादुर सुनार (९९), पूर्णबहादुर राना (८७), रामप्रसाद प्रजापति (३१) र गणेश श्रेष्ठ (५) चुनावी मैदानमा थिए ।
त्यस्तै बारा क्षेत्र नं. २ मा पनि अहिलेसम्मको मतगणना हेर्दा आफूलाई मत नहालेका उपेन्द्र यादव अगाडि रहेका छन् । उनी पनि बारामा मतदाता नामावली नभएका उम्मेदवार हुन् । बाराबाट उम्मेदवारी दिएका प्रमुख उम्मेदवार शिवचन्द्र कुशावाहाले मतदान गरे पनि उनी यादवभन्दा करिब ५ हजार मत पछाडी रहेका छन् ।



कागजपत्र |
