
तनहुँ–१ मा वाग्ले भारी मतसहित विजयी
वाग्लेले ३४ हजार ४८० मत ल्याउँदा कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत ल्याए
काठमाडौँ – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।
वाग्ले ३४ हजार ४८० मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत मात्र पाएका छन् । वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ३८८ रहेको छ ।
नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा भने नतिजा सार्वजनिक गरिसकेको छैन ।
मंसिर ४ गते भएको निर्वाचनमा विजयी तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो । त्यो समयमा कांग्रेसका पौडेल २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए । अहिले रास्वपाका य वाग्लेले त्यो भन्दा बढी मत पाएका हुन् ।
वाग्ले चैत १६ गते मात्र कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका हुन्। रास्वपाले उनलाई भावी अर्थमन्त्रीका रुपमा चुनावमा अगाडि सारेको हो ।



कागजपत्र |
