ओमानसँग ८ विकेटले हार्‍यो मलेसिया


काठमाडौं – जतिन्दर सिंहको अविजित शतकप्रेरित ओमानले एसीसी मेन्स कपमा आइतबार मलेसियालाई आठ विकेटले पराजित गरेको छ।मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मलेसियाले ९ विकेट गुमाएर दुई सय २७ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको ओमानले ४१.४ ओभरमा दुई विकेट मात्रै गुमाएर दुई सय २८ रनको लक्ष्य पूरा गर्‍यो। ओमानका लागि एक सय ११ बलको सामना गरेका सिंहले १३ चौका र एक छक्कासहित एक सय एक रनको शानदार शतकीय इनिङ खेले।

उनीसँग पहिलो विकेटका लागि एक सय २३ रनको साझेदारी गरेका अर्का ओपनर कश्यप प्रजापतिले ६९ बलमा ९ चौका र एक छक्कासहित ६६ रनको अर्धतकीय इनिङ खेलेर पभिलियन फर्के। वान् डाउनमा क्रिजमा उत्रिएका सोएब खान दुई रनमा आउटा हुँदा कप्तान जिशन मक्सुद ५८ बलमा १० चौकासहित ५२ रन जोडेर अविजित रहे।

मलेसियाका लागि मुहम्द अमिरले दुई विकेट लिनुबाहेक अन्य बलर असफल रहे। विरनदीप सिंहको ९४ रन प्रेरित मलेसियाले ओमानलाई दुई सय २८ रनको लक्ष्य दिएको थियो। मलेसियाका लागि एक सय ४४ बलको सामना गरेका विरनदीपले १३ चौकासहित ९४ रन जोडे। यस्तै, मोहम्मद स्याहादातले ६० बलमा ६ चौका र एक छक्कासहित ५५ रनको अर्धशतकीय इनिङ खेले।

त्यसबाहेक मोहम्मद अमिरले २०, साइद अजिजले १८ रन जोडेर आउट हुँदा मोहम्मद वाफिक १९ रन अविजित रहे। ओमानका लागि जिशन मक्सुदले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक चार विकेट लिए। यस्तै, बिलाल खान र आयान खानले दुई–दुई तथा कलिमुल्लाहले एक विकेट लिए।

प्रतिक्रिया