जापानको संसद कार्यालयमा आक्रमण गर्ने चेतावनी


टोकियो – जापानको संसदीय अधिकारीहरूले एक धार्मिक संगठनका एक सदस्यले आफ्नो कार्यालय मास्ने धम्कीसहितको इमेल सन्देश प्राप्त भएको बताएका छन्।

अधिकारीहरूका अनुसार ती इमेलहरू बुधबार राति संसद्को माथिल्लो र तल्लो सदन दुवैको वेबसाइटमा पठाई शुक्रबार दिउँसो सांसदको कार्यालयमा बम विष्फोट हुने चेतावनी दिइएको थियो।

जापानको सरकारी प्रसारक एनएचकेका अनुसार ती इमेलमा संसद् भवनबाट सडकको विपरीत दिशामा रहेको सांसदको कार्यालय भवनभित्र ठूलो सङ्ख्यामा अत्यधिक विष्फोटक बम र सरीन नर्भ ग्यासयुक्त उपकरण राखिएको उल्लेख गरिएको छ।

धार्मिक संगठनका सदस्यले इमेलमा स्थानीय समयअनुसार शुक्रबार दिउँसो १:३४ बजेदेखि राजनीतिज्ञको सामूहिक हत्या गरिने पनि बताएका छन्।

खतराका कारण उच्च सतर्कतामा रहेका सुरक्षाकर्मीले शंकास्पद वस्तु र प्याकेटको खोजी गरिरहेका छन्, तर अहिलेसम्म कुनै अप्रिय घटना फेला परेको छैन।

प्रतिक्रिया