बैंकले ब्याजदर घटाउने समाचारसँगै नेप्सेमा उछाल

९२ अंकले परिसूचक बढ्दा झण्डै २ अर्बको कारोबार


काठमाडौं – बैंकले ब्याजदर घटाउने निर्णय गरेपछि शेयरबजारमा उछाल आएको छ । बुधबार नेप्से परिसूचक ४.९३ प्रतिशत अर्थात ९२.२२ अंक बढेर १९६३.५५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १८.७५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.७६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४२ अंक बढेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ। यस दिन २६७ स्टकको ४७ हजार २८५ पटकको कारोबारमा १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ बराबरको ६१ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार नेप्से उच्च दरमा बढेसँगै ७ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिद्धार्थ इक्विटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड १, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शन र गणपति लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन अन्य ९ स्टकको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन ३ ऋणपत्रको मूल्य घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआईसी एशिया र हिमालयन डिष्टिलरीको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक करिब ७ प्रशित बढेको छ। त्यसैगरी, यस दिन लघुवित्त, बैंकिङ्ग र विकास बैंक उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया