छिट्टै हाम्रो पार्टी प्रदेश सरकारमा सहभागी हुन्छ : अध्यक्ष नेपाल


काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताएका छन् ।

आज (मंगलबार) पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरु संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने बताए ।

‘हाम्रा पनि मन्त्रीहरू हुनुहुन्छ । गठबन्धन दलमा हामी पनि सामेल छौँ । केन्द्रमा पनि हामी छौँँ,’ अध्यक्ष नेपालले भने, ‘अब बिस्तारै हामी प्रदेश प्रदेशमा पनि सरकारमा सहभागी गइरहेका छौं । त्यस अर्थमा प्रदेशमा पनि र केन्द्रमा पनि हाम्रो भूमिका रहनेछ । पालिकामा जहाँ हाम्रो पार्टी संगठन छ, उहाँहरुको सहयोग लिएर, उहाँहरुसँग समन्वय गरेर गरेर काम गर्नुपर्छ ।’

अध्यक्ष नेपालले नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् । उनले शिक्षा प्रणालीमा सुधार गर्नका लागि प्रधानमन्त्री र शिक्षामन्त्री आफै अग्रसर हुनुपर्नेमा जोड दिए । पार्टी अध्यक्ष नेपालले व्यक्तिवाद, भ्रष्टाचार प्रवृत्तिलाई निमिट्यान्न पार्नका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने भनाइ राखे ।

उनले दश जोड दुईसम्म निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने भन्दै सीपयुक्त र व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औल्याए । उनले आजकल नैतिक शिक्षा नहुनाले सामाजिक मर्यादा बिर्सन थालेको उल्लेख गर्दै विद्यालय तहमा नैतिक शिक्षालाई अनिवार्य बनाउनुपर्ने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले अहिलेको सरकारले शिक्षा क्षेत्रलाई उच्चतम प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले शैक्षिक प्रणाली सुधार्ने कर्तव्य शिक्षकको रहेको भन्दै आफ्नो विद्यालयमा शिक्षकले राम्रो पढाउनुपर्ने बताए ।

कार्यक्रममा सङ्गठनका अध्यक्ष भीमबहादुर बस्नेतले शिक्षालाई श्रम र सीपसँग जोड्नुपर्ने बताए । महाधिवेशनमा देशभरिबाट तीन सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

प्रतिक्रिया