जोखिम न्यूनीकरणका लागि विपद् पूर्वतयारी अभ्यास


महेन्द्रनगर – कञ्चनपुरको दोधारा चाँदनीस्थित जोगबुढा नदीमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थान दोधारा चाँदनीले विपदपूर्व तयारी अभ्यास प्रदर्शन गरेको छ । बाढीको जोखिमयुक्त बस्तीमा बाढीबाट बच्ने उपाय र खोज उद्धार लगायतका बारेमा समुदायस्तरमा नमुना अभ्यास प्रदर्शन गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थान, राष्ट्रिय समाज कल्याण संघ र दोधारा चाँदनी नगरपालिकाको सहयोगमा बाढीबाट बच्ने उपाय र खोज उद्धार नमुना अभ्यास प्रदर्शन गरेको हो ।

सीमा सुरक्षा गुल्म देवीस्थानको तालिम प्राप्त टोलीले विपदको बेला घर वरिपरिका सरसामान प्रयोग गरेर पनि बाढीबाट बच्न सक्ने उपयाहरू बारे स्थानीयलाई नदीमा नमुना अभ्यास देखाएको हो । बाढीबाट जोखिमयुक्त क्षेत्रका स्थानीयमा जनचेतना फैलाउने उद्देश्यले तालिम प्राप्त टोलीद्वारा नमुना अभ्यास गराइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यक्रम संयोजक राज कुमार सुनारले बाढीको जोखिम रहेको समुदायमा पूर्व तयारी र बाढीबाट बच्ने उपायका बारेमा नमुना अभ्यास गरी स्थानीयलाई जानकारी दिएको बताए ।

दोधारा चाँदनी नगरपालिका-९ का स्थानीय मायादेवी सुनारले प्रयोगात्मक रुपमा देखाइएको अभ्यासले थुप्रै कुरा जानकारी पाएको बताए । तीन तर्फ जोगबुढा नदी र एकतर्फ महाकाली नदीले घेरिएको दोधारा चाँदनी बाढीको उच्च जोखिममा पर्छ ।

प्रतिक्रिया