एकल महिलाबाट जन्मिएको बच्चाको जन्मदर्ता मावलीकै थरबाट गर्न वडालाई निर्देशन


काठमाडौं – सरकारले एक महिलाबाट जन्मेको बच्चाको जन्मदर्ता मावलीकै थरबाट गर्न देशभरिका वडालाई निर्देशन दिएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले वडालाई पत्राचार गर्दै एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता गर्ने विषयमा थप प्रष्ट पारेको छ।

जसमा भनिएको छ, ‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने।’

त्यस्तै विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिन विभागले निर्देशन दिएको छ।

त्यस्तै प्रकरण नं.(१) र (२) अनुसार बच्चाको जन्म दर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्म दर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता गरिदिने र प्रकरण नं.(१) र (२) बाहेक अन्य अवस्थामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (संशोधन सहित), २०७७ र विभागको यस अघिका परिपत्रअनुसार गर्ने निर्देशन दिइएको छ।

प्रतिक्रिया