
प्रचण्डलाई ओलीको सुझाव : कार्यकर्तालाई पैसा बाँडेर राज्यको ढुकुटी नरित्याउनुस्
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई सुरक्षित गराउन संक्रमणकालीन न्यायको विषय फास्ट ट्र्याकबाट टुंग्याउन खोजेको बताएका छन् ।
बुधबार बाराको गढीमाईमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले १८ वर्षसम्म टुंगो नलागेको विषय १८ दिनमा टुंगो लगाएर आफूलाई सुरक्षित गर्दै पीडितलाई पीडा दिने अभियानमा सरकार लागेको आरोप लगाएका हुन् ।
‘यो सरकार शान्ति प्रक्रिया छिटो टुंग्याऊँ भनेर आफ्ना लागि मात्रै छिटो बाटोबाट टुंगो लगाउन खोजिरहेको छ। किन १८ वर्षसम्म टुंगो लागेन १८ दिनमा छोटो बाटोबाट आजको भोलि टुंग्याउनेरु छलफल गर्न नदिने, पीडितलाई न्याय नदिने, पीडा थप्ने, डर त्रासमा पार्ने अनि आफूलाई मात्रै सुरक्षित बनाउन खोज्ने। प्रधानमन्त्री यस ढंगले चल्न खोज्नुभएको छ,’ उनले भने।
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ताका नाममा पैसा बाँड्न खोजेको आरोप लगाए। उनले कार्यकर्तालाई पैसा बाँड्ने नाममा देशको ढुकुटी रित्याउने काम नगर्न सुझाव दिँदै पीडितलाई न्याय दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
‘प्रचण्डले कार्यकर्ताका नाममा पैसा बाँड्ने, क्यान्टेन्टमेन्टको जस्तो अरबौं पैसा लडाकुलाई दिने भनेर कुम्ल्याउनुभयो। त्यही कुरा फेरि पीडितहरूलाई पैसा बाँड्ने नममा एउटा खेल सुरू भएको छ। पीडितलाई न्याय दिनुस न कार्यकर्तालाई पैसा बाँड्ने नाममा देशको ढुकुटी रित्याउने होइन। अहिले देशमा तरलताको अभाव छ। बैंकसँग पैसा छैन, लगानी गर्ने पैसा छैन्। काम सकेका ठेकेदारलाई दिने पैसा छैन् तर, उहाँहरूलाई वास्ता छैन्। उहाँहरू जसरी पनि संकलनमा लाग्ने नीतिमा लाग्नुभएको छ,’ उनले भने।



कागजपत्र |
