

रविले आज १ बजेभित्र उम्मेदवारीविरुद्ध परेको उजुरीको स्पष्टीकरण दिँदै

काठमाडौं – वैशाख १० गते हुने उपनिर्वाचनका लागि मनोनयन दिएका उम्मेदवारविरुद्ध परेको उजुरीउपर आज स्पष्टीकरण दिनुपर्नेछ ।
उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर २ का उमेदवार रवि लामिछानेविरुद्ध उजुरी परेको छ । उनले आज दाबी विरोध र उजुरीमा स्पष्टीकरण बुझाउनु पर्नेछ ।
रविविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई स्पष्टीकरण सोधेको हो । बुधबार (आज) दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बताएका छन् ।
‘हामीले उहाँलाई स्पष्टीकरण सोधका छौँ । बुधबार दिउँसो १ बजेसम्ममा जवाफ दिनुहोला भनेका छौँ । दाबी विरोधबारे साँझ ५ बजेसम्म निर्णय गर्नेछौँ,’ उनले भने । पौडेलेको उजुरीको स्पष्टीकरण भने निर्वाचन आयोगमा पठाइने उनले बताए ।
रविविरुद्ध तीनवटा दाबी विरोध र एउटा उजुरी परेको छ । सोमबार भएको उमेदवारी दर्ताविरुद्ध मंगलबार तीनजना उमेदवारले उमेदवार बन्न अयोग्य रहेको भन्दै दाबी विरोधको सूचना दर्ता गराएका छन् ।
स्वतन्त्र उमेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र अर्का स्वतन्त्र उमेदवारका प्रतिनिधि शिवबहादुर सुवेदीले दाबी विरोध गरेका हुन् ।
त्यस्तै, रविविरुद्ध उजुरी दिँदै आएका युवराज पौडेल सफलले उमेदवारी खारेज गर्न माग गर्दै उजुरी दिएका छन् ।

