

मेयरद्वय बालेन शाह र हर्क साम्पाङबीच भेटवार्ता
बालेनलाई साम्पाङको ‘सिलाम साक्मा’ उपहार

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह दुबै चर्चित मेयर हुन् । यी दुई स्वतन्त्र मेयरविच सामाजिक सञ्जालमा भनाभन जस्तो भएको थियो । बालेनविरुद्ध साम्पाङले स्टाटस लेखेपछि बालेनले पनि उत्तर फर्काएका थिए । यी दुई मेयरविच मंगलबार दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको छ ।
खानेपानी योजना माग्न काठमाडौं आएका साम्पाङले राष्ट्रिय सभागृहको सम्पर्क कार्यालयमा पुगेर बालेनलाई भेटेका हुन् । भेटपछि सम्पाङले लेखेका छन्, ‘आज बालेन शाह ज्यु सङ्ग पहिलो भेट भयो ! रमाइलो भयो कुराकानी ।’
भेटमा साम्पाङले शाहलाई ‘सिलाम साक्मा’ मायाको चिनो बोकेर गएका थिए । सम्पाङले लिएको गएको ‘सिलाम साक्मा’ एकअर्कालाई लगाइदिएका थिए । लिम्बु जातिको सघन बसोबास भएको क्षेत्रमा हुने सार्वजनिक समारोहमा अतिथिलाई अचेल ब्याजको सट्टा आकर्षक ‘सिलाम साक्मा’ लगाइदिई स्वागत र सम्मान गरिन्छ।
बाँसको दुई कप्टेरोमा विभिन्न रङका धागो हातले जडेर बनाइएको चारकुने सिलाम साक्माको छेउमा फुर्को राखिएको हुन्छ। सामाजिक वा सार्वजनिक समारोहमा सहभागी हुन महिला-पुरुष छातीमा सिलाम साक्मा सजाएर पुग्ने गर्छन्। सिलाम साक्मा मुन्धुम र लिम्बु परम्पराको महत्वपूर्ण तङसिङ संस्कारमा प्रयोग हुने गर्छ।
अधिकांश लिम्बु संघ-संस्थाको लोगो सिलाम साक्मा आकारको छ। घरको सजावटमा पनि यसको प्रयोग गरिन्छ। लिम्बु जातिको परम्परा र संस्कृतिमा आधारित यसको प्रयोग अरू जातिले पनि गर्छन्।
लिम्बु भाषाको ‘सिलाम साक्मा’ शब्दले मृत्युको बाटो छेक्ने अर्थ दिने याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगु बताउँछन्। उनका अनुसार ‘सि’को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’ अर्थ रोक्नु भन्ने लाग्छ। यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा सिलाम साक्मालाई लिइन्छ। प्रसिद्ध तङसिङ तक्मा अनुष्ठानसँग सिलाम साक्मा जोडिन्छ।

