

रविलाई लक्षित गर्दै विश्वप्रकाशले भने- प्रचण्डलाई नो नट अगेन भन्नेले उनकै मन्त्रिमण्डलमा सहभागी हुन्न भन्न नसक्नु लाजमर्दो

हेटौंडा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै पुष्पकमल दाहाल प्रचण्डको क्याबिनेटमा सहभागी हुनु लाजमर्दो भएको बताए ।
महामन्त्री शर्माले पुस १० गते प्रधानमन्त्री प्रचण्डको क्याबिनेटमा उपप्रधानसहित गृहमन्त्री बनेका लामिछानेले प्रचण्डलाई नो नट अगेन भन्नेले उनकै मन्त्रिमण्डलमा सहभागी हुन्न भन्न नसक्नु लाजमर्दो विषय भएको बताएका हुन् । ‘प्रचण्डलाई नो नट अगेन भन्नेले उनकै मन्त्रिमण्डलमा सहभागी हुन्न भन्न नसक्नु लाजमर्दो विषय हाे, चितवन–२ का जनताले अब आवेगमा गर्दैनन्’ उनले भने ।
वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको सन्दर्भमा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको मनोनयन दर्ताको लागि चितवन पुगेका शर्माले लामिछानेले मिडियाप्रति लगाएको लाल्छनापति असन्तुष्ट समेत व्यक्त गरेका छन् ।
चितवनमा आयोजना भएको आमसभामा बोल्दै शर्माले यस्तो बताएका हुन् । ‘‘यो देशको लोकतन्त्रमा राजनीतिक दलको मात्र होइन, मिडियाले पनि उत्तिकै योगदान गरेका छन् । लोकतन्त्रका लागि रगत बगाएका छन् । सहादत दिएका छन्, संघर्ष गरेका छन् । म पनि टेलिभिजनमा सामाजिक रूपान्तरणको कार्यक्रम ‘ऐना’ चलाएर आएको हुँ’, रवितर्फ संकेत गर्दै शर्माले भने, ‘टेलिभिजनमा हुन्जेल नेताजति सबै खराब, राजनीतिमा गएपछि मिडियाजति सबै खराब, १२ भाइ खराब भन्ने कुरा नैतिक हुन सक्दैन ।’
शर्माले चितवन कांग्रेसले जितनारायणलाई उम्मेदवार बनाएर न्याय गरेको भन्दै यो पटक कांग्रेसको जित हुने दाबी गरे ।उनले भने, ‘आज पार्टीले ठीक निर्णय गरेको छ । जीतनारायणजीलाई उम्मेदवार बनाएको छ । तपाईंहरूले परिणाममा पनि नामजस्तै जीतनारायण बनाउनुहुनेछ ।’ लोकतन्त्रमा जनताकेन्द्रित भएर काम हुनुपर्छ । तर, लोकतन्त्रमा भएको कमी–कमजोरी देखाउने मात्र एजेन्डा हुन सक्दैन भन्दै शर्माले जहिले पनि सतिले सरापेको कारण देश बनेन भनेर कुर्लेर मात्र देश निर्माण नहुने बताए । गठवन्धनको तर्फबाट उम्मेदवार बनेका जितनारायणले चितवनको सबैखाले विषय बुझेको र उनले जिते समग्र चितवनको मुहार फेरिने शर्माको भनाई रहेको छ ।

